संसदीय छानबिन समिति गठन : कार्यदलमा किन भएन सहमति ?

प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएपछि कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।

आइतबार दिनभर संसदीय छानबिन समितिको कार्य क्षेत्रको विषयमा सहमति जुटाउने बसेको कार्य दलको बैठकमा कांग्रेसले पुरानै अडान यथावत राखेपछि सहमति जुट्न नसकेको हो । तर नेताहरुले फेरि आजै साँझ बैठक बस्ने र सहमति जुटाउन प्रयास गर्ने बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताए । उनले पुनः छलफल गरी सो विषयलाई टुंगो लगाउन आफूहरु प्रयासरत रहेको पनि जानकारी दिए ।

‘कार्यदलले तयार पार्नुपर्ने टिओआरका बारेमा विभिन्न ढंगबाट छलफलहरु चलिरहेको छ । छलफल सकारात्मक ढंगले अगाडि बढेकै छ । र हामी यो समस्यालाई टुंगोमा पु¥याउनका लागि प्रमुख प्रतिपक्ष दलको हिसाबले पनि लागिरहेका छौं । संसद बैठक सकिएलगत्तै फेरी बैठक बस्नेगरी हामी उठेका छौं,’ परियारले भने ।
यता सत्तापक्षले भने आरोप लगाउँदैमा दोषी करार गर्ने ढंगले कांग्रेसले प्रस्ताव ल्याएको मान्य नहुने प्रतिक्रिया दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आरोप लाग्दैमा पार्टीका सभापति रवि लामिछानेलाई दोषी करार गर्ने खालको प्रस्ताव कांग्रेसले गरेको भन्दै मान्यता नहुने बताए ।

‘आजको दिनमा संसदीय छानबिन समितिको टिओआर बनाउँदा नै त फलानोफलानो दोषी होस् । फलानोफलानोलाई छानबिन गर भन्ने किसिमको जुन प्रस्ताव आएको छ, त्यसमा हाम्रो असहमति छ । तर यसलाई मिलन विन्दुमा ल्याउने प्रयासमा हामी लागिरहेका छौं,’ खनालले भने ।

प्रमुख दलका शीर्ष नेताहरुले सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएपछि त्यसको टिओआर तय गर्न सो कार्यदलमा छलफल गरिएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजकत्वमा रहेको सो कार्यदलमा कांग्रेसका सहमहामन्त्री जीवन परियार,  एमालेका प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *