झारा टार्ने संसदीय छानबिन समिति मान्दैनौंः कांग्रेस
प्रमुख प्रतिपक्ष कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको बताए । उनले संसदीय समितिको नाममा झारा टार्ने काममा सरकार लागेकाले ढिला भइरहेको आरोप लगाए ।
‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्ता पक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाऊँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारा टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन । हामीले भनेको समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्नेकुरा पनि उल्लेख गरेर जाऊँ । जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाऊँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ । त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले काँग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाऊँ भन्ने हो । उहाँहरुको कुरा जिम्मेवारपूर्ण आएन,’ लेखकले भने ।
प्रमुख सचेतक लेखकले कांग्रेस आफूहरुको मागबाट पछि नहट्ने बताए ।
प्रतिक्रिया