टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ विरुद्ध २४ करोड भ्रष्टाचारको मुद्दा

वनको जग्गा व्यक्तिको नाम गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहनस्नेही रसाईलीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को १५ बिगाह जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिएको अख्तियारले जनाएको छ ।

फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरिएको पाइएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचारमा संलग्नताको आरोप लागेका मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाइली र नायब सुब्बा अग्निबहादुर शाहीविरुद्ध २४ करोड बिगो, जरिवाना तथा कैद असुल्न अख्तियारले माग गरेको छ ।
यस्तै, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलले उक्त जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरेको पाइएकाले उनीहरुलाई पनि जनही २४ करोड बिगो, जरिवाना तथा कैद असुल्नुपर्ने अख्तियारको माग छ ।

उक्त जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र विमल बहादुर रावलविरुद्ध पनि जनही २४ करोड बिगो, जरिवाना तथा कैद असुल्नुपर्ने अख्तियारले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *