डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेच्ने दुई पक्राउ

काठमाडौं प्रहरीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेच्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जेठ ४ मा काठमाडौं महानगरपालिका–२२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

आइतबार उनीहरुलाई सार्वजनिक गरिएको छ । बर्मा देश भई काठमाडौं बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको छ ।

यस्तै, लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१२ को ३२ वर्षीय सचिन राना छन् ।

जेठ ५ मा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा रानालाई पक्राउ गरेको हो ।

रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *