म ‘कम्फर्ट जोन’ भए आफैं चुनौती खडा गरेर अघि बढ्न चाहन्छुः भारतीय प्रधानमन्त्री मोदी
भारतका करिब ९० करोड मतदाता अहिले लोकसभा चुनावमा सहभागी छन् । पाँच चरणमा भइरहेको चुनावमा कसको जित होला भन्ने अड्कलबाजी पनि भइरहेको छ । विशेषगरी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।
तर, विभिन्न चुनावी सर्वेक्षणअनुसार यसपटक पनि भाजपाको गठबन्धन चुनावमा सबैभन्दा अघि रहने विश्लेषण गरिएको छ । भाजपाको चुनावी नेतृत्व भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेका छन् । यसपटक भाजपाले चुनावमा ४ सयभन्दा बढी सिट ल्याउने लक्ष्य राखेको छ ।
एक दशकदेखि भारतको प्रधानमन्त्री रहेका मोदी चुनावमा बहुमत हासिल गरेर अझ बलियो सरकार बनाउने र तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने योजनामा छन् । उनले चुनाव प्रचारलाई तीव्रता दिएका छन्, विपक्षीको कडा आलोचना गर्दै आएका छन् भने सरकारका कामहरुको पनि प्रचार गर्दै आएका छन् ।
पछिल्लो समय भारतमा मात्र नभई विश्वमै प्रभावशाली नेतृत्वमा उदाइरहेका मोदीसँग भारतको समाचारसंस्था आजतकले केही दिनअघि मात्र अन्तर्वार्ता लिएको थियो, जसमा उनले आफ्नो चुनावको योजना, लोकतन्त्रमा चुनावको महत्व, विदेश नीति तथा सम्झौताका बारेमा कुरा गरेका छन् ।
अहिलेको चुनाव उनको कन्फर्ट जोन थियो त ? आजतकको प्रश्नमा उनले भनेका छन्, ‘हामी कहिले पनि कन्फर्ट जोनमा जानु हुँदैन । यदि अहिले सजिलो छ भने अर्को चुनौती खडा गर्नुपर्छ । म आफ्नो टिमलाई जागरुक चाहन्छु, दौडाइरहन चाहन्छु ।’
चुनावमा जितका लागि सजिलो परिस्थिति हुँदाहुँदै पनि उनी किन प्रयास गरिरहन्छन् त ? जवाफमा मोदी भन्छन्, ‘म यसलाई अवसरको रुपमा लिन्छु, जनता जनार्दनलाई दर्शन गर्ने । लोकतन्त्रमा चुनावलाई जित हारको रुपमा मात्रै लिन पनि हुँदैन । चुनाव आफ्नो भावना, विचार, सिद्धान्त जनतासमक्ष लैजाने माध्यम पनि हो । आफ्नो पार्टीको सिद्धान्त लिएर जनतासमक्ष जानु सबै राजनीतिक दलको कर्तव्य पनि हो ।’
लोकसभा चुनाव २०२४ मा भाजपाले ४ सयभन्दा बढी सिट जित्ने लक्ष्य लिएको छ । यो लक्ष्य कसरी तय भयो ? यसको पछाडिको उद्देश्य के हो ? जवाफमा मोदीले अझै राम्रो प्रयासको योजना भएको बताए ।
‘एक परिवार आफ्नो बच्चाको सधैं राम्रो प्रदर्शनको अपेक्षा गर्छ । यदि बच्चाले ९० नम्बर ल्याउँछ भने अर्को पटक ९५ नम्बर ल्याउन भनिन्छ । यदि बच्चा ९९ नम्बर ल्याउँछ भने उसलाई सय नम्बर मुस्किल छ भनिन्छ, तर प्रयास गर्न पनि भनिन्छ,’ मोदीले भने ।
सन् २०१९ को चुनावमा एनडीए र एनडीए प्लसको रुपमा ४ सय सिट रहेको उनले बताए । तर नेताको रुपमा आफ्ना राजनीतिक गठबन्धनका सदस्यलाई अब त्यसभन्दा पनि ठूलो लक्ष्य प्राप्त गर्न जागरुक बनाउनु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ ।
मोदीले भारतको चुनाव विश्वका लागि उदाहरणीय रहेको बताए । उनले यो चुनावको विश्वभर जानकारी गराउनुपर्ने धारणा राखे ।
कांग्रेस नेता राहुल गान्धीले पछिल्लो समय मोदीमाथि उद्योगपतिहरु अडानी र अम्बानीसँग मित्रता रहेको आरोप लगाएका छन् । मोदीले यसमा जवाफ दिँदै देशका समृद्ध व्यक्तिहरुको प्रतिष्ठा बढ्नुपर्ने बताएका छन् । तत्कालीन जवाहरलाल नेहरु सरकारलाई टाटा बिरलाको सरकार भनिने गरेको जनाउँदै उनले अहिले गान्धी परिवारले आफूलाई त्यही दोषी लगाउन खोजेको आरोप पनि लगाए ।
मोदीले हालै भारत र इरानबीच भएको चाबहार सम्झौतामा प्रतिक्रिया दिँदै देशको अर्थव्यवस्थाका लागि ठूलो सम्झौता भएको बताए । यो सम्झौतामा अमेरिकाले आपत्ति जनाएको थियो । तर मोदीले अमेरिकाको नाम नलिई भारतले कुनै पनि निर्णय आफ्नो लागि गर्ने, कुनै तेस्रो पक्षको आधारमा नगर्ने पनि पनि बताए ।
हाल रुस–युक्रेन र इजरायल–हमासबीचको युद्धको विषयमा पनि मोदीले प्रतिक्रिया दिएका छन् । उनले पहिला अन्य देश टाढा हुने खोजेकोमा पछिल्लो समय भारतको नजिक आउन खोजेको बताए ।
(भारतीय टेलिभिजन आजतकका लागि सुधीर चौधरी, राहुल कवाल, अञ्जना ओम कश्यप र श्वेता सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिएको अन्तर्वार्ताको भावानुवाद)
प्रतिक्रिया