भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् ।

माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । ‘प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भोलिसम्म सदनको अवरोध हट्नेछ ।’

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । ‘विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन,’ उनले भने ।

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एकीकृतरुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपालको लोकतन्त्र सुदृढीकरणका लागि पनि कम्युनिष्टहरू एकीकृत हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *