सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न मिल्दैन: डा. कोइराला
प्रमुख प्रतिपक्ष कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपप्रधानमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेस बोल्न दिने कुरामा सहमत भएको बताए ।
‘हामीहरुले के भनेको थियौ भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौं । होइन भने हामी तपाईले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा त्यो स्वीकार्य भएन,’ कोइरालाले भने ।
उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने नेता कोइरालाले बताए । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने नमिल्ने उनको भनाइ थियो ।
‘हामीले राजीनामा पनि मागेको छैन । राजीनामा हामी भन्दैनौं । हामी त के भन्छौँ भने उहाँ सरकारमा नभएको भए, त्यो पनि गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौ होला । किनभने सहकारी त यो तल्लो तप्काका मानिसहरुले पैसा जम्मा गरी सहकारीमा राखेर त्यो रकम अपचलन भएको हो नि त । जनताले सडकमा उठाएका मागहरुलाई हामीहरुले सदनमा ल्याइदिएको हो । हामी राजीनामा मागिराखेका छैनौं रविजीको । हामी के भन्दैछौ भने निष्पक्ष छानविन अब देशभरको छानबिन त सांसदले गर्ने होइन होला । रवि लामिछानेजीलाई जुन कुराको चार्ज लगाएका छन । त्यो कुरा होइन भनेर उहाँले पुष्टि गरिदिनु प¥यो । त्यो पुष्टि हुनका लागि उहाँले मन्त्री नै हुनुहोस् । उपप्रधानमन्त्री नै बसिरहनु होस् । तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले । गृह मन्त्रालयका बसेर सीआईबीले कसरी छानबिन गर्छ ?’ कोइरालाले भने ।
प्रतिक्रिया