एक महिनायता धनुषाका दुई पत्रकारको दुर्घटनामा मृत्यु

धनुषामा एक महिनायता दुई पत्रकारको दुर्घटनामा मृत्यु भएको छ । शनिबार बिहान जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान ३ बजे बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
यसअघि गत वैशाख ११ मा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा धनुषाधाम–५ का २८ वर्षीय विनयकुमार यादवको मृत्यु भएको थियो ।

उनी रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक थिए । उक्त दिन बिहान ४ बजे यादव सवार प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको थियो ।

मोटरसाइकलमा पछाडि सवार रहेका यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएको प्रहरीले जनाएको थियो । तर, सुरुवातमा पत्रकार यादवले मोटरसाइकल चलाएको भने पनि पछि सीसीटीभी फुटेजमा लक्ष्मीनारायणले मोटरसाइकल चलाएको देखिएको थियो ।

घटनाको केही दिनअघि पत्रकार यादवलाई अर्को पक्षबाट धम्की पनि आएको थियो । तर, प्रहरीले दुई घटना दुर्घटना रहेको र अन्य शंकास्पद विषय नदेखिएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर