
झापामा हात्ती धपाउन अत्याधुनिक ड्रोन प्रयोग गरिने


मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न र वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने तयारी गरेको छ।
१० लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। उनका अनुसार २ किलोमिटर वरपरको दृश्य लिन सक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ। ड्रोनको तौल साढे ७ किलोग्राम रहेको छ।
ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षित रुपमा जङ्गलतर्फ फर्काउन सघाउ पुग्ने उप्रेतीले बताए। जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयले अपेक्षा राखेको छ।
ड्रोनलाई मोडिफाई (परिमार्जन) गरेर नाइटभिजन बत्ती र साइरन जडान गरिएको छ।
यसलाई राति पनि प्रयोग गर्न सकिने बनाइएको जानकारी उनले दिए। उनका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जङ्गली हात्ती धपाउन सजिलो हुनेछ। यसअघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुईवटा सवारीसाधनलाई प्रयोग गर्ने गरेको थियो।
झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाकालगायत विभिन्न उपाय प्रयोग भइसकेका छन्।
ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ। जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भूभाग केचनाकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ।
‘हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौँ, वन डिभिजन कार्यालयका वन अधिकृत उप्रेतीले भने, मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्नेबित्तिकै जङ्गलतर्फ भागेका थिए।’
भद्रपुर नगरपालिका–१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनको सहायताले ४ वर्षअघि हात्ती धपाइएको थियो। जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन परीक्षण लागि वन कर्मचारीलाई तालिम दिइएको छ।
ड्रोनमार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकारी सावित भए आगामी वर्ष प्रविधियुक्त अर्को ड्रोन खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिए।
- एमालेले भन्यो- सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ
- एनआरएनको अधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी
- एमालले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने
- सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रतिक्रिया