सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छन्  ।

प्रधानमन्त्री दाहालले सिंहदरवारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई अहिले छलफलमा बोलाएका हुन् ।  छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले आजको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिए ।

आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे निर्धारित गरिएको थियो । प्रमुख प्रतिपक्षी काँग्रेसले पनि विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेको छ ।

सङ्घीय संसद्को चालु अधिवेशनका हालसम्मका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । सो दलले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गर्दै आएको छ । यही जेठ १ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षी काँग्रेसले अवरोध गर्दै आएको छ । जेठ २ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुति भएको थियो भने उनलाई धन्यवाद दिनेलगायत कार्यसूची रहेको उक्त दिनको साँझको बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । यही जेठ ३ गतेको बैठक पनि विपक्षीको विरोधका कारण अवरोध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर