संसद अवरोध खोल्न दलहरु सहमति नजिक

सांसदहरुले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरुबीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ ।

यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन । यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडि बढ्ने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए । उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए ।

‘४ बजेको बैठक अगाडी बढ्छ । त्यस हिसाबले समझदारी गर्नका लागि नै अहिले हामीले केही समय माग गरेका हौँ । नेपाल सरकारको तर्फबाट पनि पहल जारी छ । प्रमुख प्रतिपक्षले पनि यति महत्वपूर्ण समय सांसदको, देशको । विरोध र अवरोधको श्रृङ्खला लगातार जारी राखेर देशलाई, संसदलाई बन्दक बनाउनु हुँदैन । प्रमुख प्रतिपक्षले बुझ्नुपर्छ । गृहमन्त्रीलाई बोल्न समय दिनुपर्छ । ४ बजेको बैठक सहजताका साथ अगाडि बढ्छ,’ बर्तौलाले भने ।

कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री संसदीय छानबिन समिति गठनमा सकारात्मक देखिएको भए पनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए । उनले संसदीय छानबिन समिति गठनको सम्बन्धमा निक्र्योल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताए । उनले सरकार संसदीय छानबिन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडि बढ्ने बताए ।

माओवादीका सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले कांग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए । कांग्रेससँग सहमति भएर ४ बजेको संसद खुल्ने दाबी उनले दाबी गरे । उनले संकटग्रस्त सहकारीहरुको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर