सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेसँग आग्रह गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइरहेको र विश्वासको मत मात्रै दिने नभई सरकारमा सहभागी हुन समेत एमालेलाई आग्रह गरे ।
नेपालले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको र मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पारे । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको बताउँदै उनले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताए ।
‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रीय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ,’ उनले भने ।
अध्यक्ष नेपालले एकीकृत समाजवादी फुटाउन सहज नरहेको बताए । सबै सांसदहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया