बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना
बाल संगठनले बालमन्दिर चलाउन छुट्ट्याएको २८ रोपनी ५ आना जग्गा हडप्न मुलुककै ठूलोमध्येको व्यापारिक घराना ‘विशाल ग्रुप’ योजनाबद्ध रूपमा लागिपरेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।
जग्गा हडप्नकै लागि विशाल ग्रुपको योजनामा ६० वर्षका लागि बाल संगठनको जग्गा भाडामा लिइएको देखिएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारीलाई विभिन्न प्रलोभनमा पारी जग्गा हडपेको प्रमाण फेला परेपछि केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेको थियो ।
सरकारी जग्गालाई गैरकानुनी रूपमा सम्झौता गरी अनन्तकालसम्म प्रयोग गर्न दिने र लिने दुवै पक्ष गरी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले अनुसन्धान थालेको हो ।
विशाल ग्रुपले बालमन्दिरको जग्गा हत्याउन बृहस्पति विद्यासदन र राय स्कुललाई अघि सारेको कुरा उनीहरूको सो संस्थामा भएको आबद्धताले पनि पुष्टि गरेको छ ।
बृहस्पति र राय स्कुलको सेयर लागतमा विशाल ग्रुपकै सदस्यहरूको नाममा बढी सेयर रकम देखिएको देखिन्छ । सुरुमा बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशीले सञ्चालन गरेको भए पनि अहिले उनको नाममा सेयर संख्या न्यून छ भने सेयर रकम र संख्यामा विशाल ग्रुपमै रहेकाहरूको वर्चस्व रहेको छ । बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये प्रत्यक्ष–अप्रत्यक्ष गरी अधिकांश विशाल ग्रुपकै परिवारका सदस्य पाइएको छ ।
३ वैशाख २०६९ सम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मीनुकुमारी जोशीसमेत पाँच जनाको लगानी रहेको थियो । त्यसपछि क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी हुँदै र बढ्दै अहिले आएर बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको छ ।
७ जेठ २०७४ देखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघाई र ‘ग्रिनफिल्ड इंक प्रालि’ प्रवेश गरेको थियो । अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू हुन् । यसैगरी, २०७८ सालसम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दीपा थापा, बसुन्धरा श्रेष्ठ, समीर थापा, सुनील जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकका रूपमा रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया