काल बन्दै चट्याङ : २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते

केही दिनअघि मात्र अछाम रामारोशनमा घरकै ढोकामा बसिरहेको बेलामा चट्याङ लागेर ६ वर्षीय बालक कमल भण्डारीको मृत्यु भयो। गत चैत २४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुमित कुशवाहको चट्याङकै कारण मृत्यु भयो। सोही दिन नै बागलुङको ढोरपाटनका ५६ वर्षीय कुमबहादुर पुनको पनि चट्याङ लागेर मृत्यु भयो। त्यतिबेला चट्याङले डडेल्धुरामा तीन जनालाई घाइते बनायो। यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। हरेक वर्ष चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्। प्री–मनसुन सुरु भएयता वैशाख महिनामा मात्र १३ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्।

लगभग पाँच साताअघि सुरु महिनाअघि सुरु भएको प्री–मनसुन अवधि सकिन अझै एक महिनाजति लाग्छ। यअसघि २०८० सालमा चट्याङले ४३ जनाको ज्यान लियो भने २१७ जना घाइते भए। २०७९ सालमा पनि चट्याङ लाग्दा ७३ जनाको मृत्यु भएको थियो भने १७६ जना घाइते भएका थिए।

जल तथा मौसम अनुमान विज्ञान विभागका अनुसार केही दिन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ। चैतदेखि सुरु हुने प्री–मनसुनको अवधि जेठ महिनासम्मै रहने हुनाले थप एक महिना नेपामला हावाहुरी तथा चट्याङको उच्च जोखिम हुने बताइएको छ। चट्याङबाट बच्न अब एक महिना सबैलाई सचेत रहन विभागले आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रायः प्री–मनसुनको अवधिमा हावाहुरी चट्याङ प्रायः दिउँसो २ बजेपछि दुई–तीन घण्टाको अवधिमा पर्ने गर्छ। अहिले स्थानीय बादलसँगै बंगालको खाडीबाट आएको जलवाय मिसिएकाले दुईदेखि तीन घण्टा पानी पर्ने सम्भावना समेत रहन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर