नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको सर्वेक्षणको प्रतिवेदन

नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको देखिएको छ ।  सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार नेपालमा ३६ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको देखिएको हो ।

प्रतिवेदनअनुसार २६ प्रतिशत महिलामा र ३९ प्रतिशत पुरुषमा जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले उनीहरूले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको देखिएको बताए ।

तथ्यांक कार्यालयले २९ जिल्लाका ६ हजार ५२० घरपरिवारमा सर्वेक्षण गरेको उनले जानकारी दिए । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रूपमा जलवायु परिवर्तनको अनुभूति गरेको उनले जानकारी दिए ।

सबैभन्दा बढी २५.२ प्रतिशतले जलवायु परिवर्तनको मुख्य कारण वन विनाश भएको जवाफ दिएका उनले बताए । त्यस्तै, जलवायु परिवर्तनको कारणहरूमा औद्योगिकीकरण, सहरीकरण र अन्य मानवीय कारणहरू पनि रहेको सर्वेक्षणमा सहभागीहरूले जवाफ दिएका निर्देशक रेग्मीले बताए ।

सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएका उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर