स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
मधेस प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री पदबाट राजीनामा गर्न यादवलाई सन्देश दिएको उच्चस्रोतले जानकारी दिएको छ ।
यादव अध्यक्ष रहेको जसपा नेपाल हालै विभाजित भएको थियो । १२ सांसदमध्ये ७ सांसदको साथ लिएर अशोक राईले पार्टी विभाजन गरी जसपा गठन गरेका थिए ।
राईले पार्टी फुटाउनुको कारण यादव वर्तमान गठबन्धन भत्काउन सक्रिय रहेको आरोप लगाएको थियो । यादवले एकीकृत समाजवादीसँग मिलेर कांग्रेससँग वार्ता गरेको र प्रधानमन्त्री पाए गठबन्धन भत्काउने तयारी गरेको राई पक्षको आरोप थियो । सोही कारण सरकारलाई अस्थिर हुन नदिन पार्टी फुटाउनु परेको राई पक्षको जिकिर थियो ।
यादवले भने आफूले त्यस्तो गतिविधि नगरेको र वर्तमान सरकारलाई समर्थन जारी रहने जनाएका थिए । तर, केही दिनअघि जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सत्तारुढ दलले आफ्नो पार्टी फुटाएको आरोप लगाएका थिए ।
यादवको गतिविधिका कारण असन्तुष्ट रहेका प्रधानमन्त्री दाहालले जसपा नेपाल नेतृत्वको मधेस सरकारबाट माओवादी बाहिरिने निर्णय लिएका हुन् । यस्तै, यादवलाई पनि सरकारबाट फिर्ता हुन निर्देशन दिएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया