एआईजीद्वय जोशी र ढकाललाई दर्ज्यानी चिह्न प्रदान

हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नविन्द अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो । मन्त्रिपरिषद्को वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारीबोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।

एआईजी जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्‍वास र थप कर्तव्यबोधका साथ पूरा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर