राजनीतिक घटनाक्रमबारे राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।
भेटमा मुलुकको समसामयिक विषय र राजनीतिक घटनाक्रमबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिले जेठ १ मा सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्ने तयारी छ ।
तर, प्रमुख प्रतिपक्ष कांग्रेसले भने सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । यिनै विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो ।
शीतलनिवास स्रोतका अनुसार हाल राष्ट्रपति पर्ख र हेरको स्थितिमा छन् । यदि कांग्रेसले संसदमा अवरोध गर्ने हो भने राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्नका लागि संसदमा नजानेसम्मको स्थिति आउनसक्ने स्रोतले बतायो ।
प्रतिक्रिया