
प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि लामिछानेमाथि कांग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन् ।
पार्टीको काठमाडांै महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे । उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनी प्रश्न समेत गरे ।
‘अचम्मको कुरा के भने नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरांै भन्न जान्छ राति । त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ । रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्नलायक भयो । का्ंग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ? संसद चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसदमा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने । यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’ ओलीले भने ।
अध्यक्ष ओलीले कांग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताए ।
प्रतिक्रिया