जीबी राईबारे रवि–गगनको आरोपप्रत्यारोप

सहकारीको बचत ठगी प्रकरणमा जीबी (गितेन्द्रबाबु) राई लामो समयदेखि फरार छन् । राई समूहले काठमाडौं, पोखरा, चितवन, बुटवल, वीरगन्जलगायत स्थानमा सञ्चालन गरेको सहकारीबाट हजारौं बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको छ ।

यही प्रकरणमा वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । रास्वपा सभापति लामिछाने राजनीतिमा आउनुअघि नै गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा प्रबन्ध निर्देशक थिए । जीबीले आफूले सञ्चालन गरेको सहकारीको करोडौं रकम यो मिडियामा लगानी गरेका थिए । यसरी सहकारीबाट लगानी गर्नु अवैध हो ।

अहिले प्रमुख प्रतिपक्ष कांग्रेसले यही प्रकरणमा लामिछाने पनि संलग्न भएको भन्दै संसदीय छानबिन समिति गठनको माग राख्दै संसद अवरोध गर्दै आएको छ । यसबीचमा लामिछाने र कांग्रेस महामन्त्री गगनकुमार थापाबीच राईबारे आरोप प्रत्यारोप चलेको छ ।

शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका छन् । उनले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । ‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि !’ उनले भने । यसअघि कांग्रेस र माओवादीको गठबन्धनमा सरकार थियो ।

शनिबार नै कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएका छन् । ‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न चुनौती दिए ।

‘जीबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं बचतकर्ताहरूको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनैपनि द्विविधा छैन । तथ्य, प्रमाणका कुराहरू निस्किएका छन् । तथ्य, प्रमाण खोज्न पनि कहीँ पनि जानुपर्दैन । कसैले पेस पनि गर्नुपर्दैन । रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरू, सीआईबीले गरेको अनुसन्धान, जसमा लुकाइएको थियो । तर अहिले जुन बाहिर सार्वजनिक भएको छ,’ थापाले भने, ‘पोखरा महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर ल्याप्चे लगायतको यसको परीक्षण गर्नका लागि गरेको अनुरोध, त्यहाँभित्र रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरू, पत्रहरू, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर