सरकार संसद चल्न नदिने र समिति पनि बनाउन नदिनेतर्फ उद्यत भयोः कांग्रेस

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानबिन समिति बन्न नदिनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन् । बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ (सोमबार) अपराह्न १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमबार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

महामन्त्री थापाले भने, ‘हिजो संसदमा हामीले सभामुखसँग पनि र अन्य दलसँग पनि छलफल गरेर संसदको गतिरोध पनि अन्त्य होस्, हाम्रो माग पनि सम्बोधन होस् भनेर एउटा सदाशयता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत ग¥यो । र सम्माननीय सभामुखले पनि जसरी संसदको अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो । र प्रतिपक्ष दलले त्यत्रो सदाशयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो । त्यो हाम्रो लागि अप्रत्याशित पनि भयो । र हामी चाहिने भन्दा बढी लचकदार भइरहेका छौं । हामीले लामो समयदेखि भनिराखेको गृहमन्त्रीजीले बोल्न पाउनुपर्छ भनेपछि उहाँले बोल्नु पाउनुपर्छ । उहाँले बोलेको कुरा सुन्ने भन्दै गर्दा जब्बरजस्ती कार्यसूचिमा प्रवेश गराउने काम भयो । यो सबै कुराले जसरी भए पनि यो संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ नै सरकार उद्धत भएको भन्ने हाम्रो छलफलको आज निष्कर्ष जस्तो सबैको त्यो रह्यो ।’

नेपाली कांग्रेसले शुक्रबार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *