मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणका लागि गरियो शिलान्यास
भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खननलाई निरन्तरता दिनुपर्ने बताए ।
भक्तपुरका एक सय वर्ष पुराना घरहरू बस्नका लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरूबाट परीक्षण गर्नु खाँचो रहेको जनाउँदै उनले सम्पदा पुनः निर्माणमा मौलिकता संरक्षणमा जोड दिए।
कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका रूपमा रहेको बताए । विसं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको उनले जानकारी दिए ।
थन्थु दरबार भत्काउन रु. ११ लाख ५१ हजार लागेको जनाउँदै नगरप्रमुख प्रजापतिले रु १२ करोड ८५ लाख ३४ हजार बजेट लगत ‘इष्टिमेट’ गरिए पनि पहिलो चरणको कार्य योजनामा रु. चार करोड ७२ लाख बजेट स्वीकृत गरी पुनःनिर्माण अगाडि बढाएको बताए । दरबार पुनः निर्माणका लागि रु एक करोड ५८ लाखको काठ ‘टेन्डर’ प्रक्रियाबाट खरिद गरिसकेको जनाइएको छ ।
कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीलगायतले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरूमा क्षति पुर्याएको स्मरण गर्दै भूकम्पले विनाससँगसँगै भक्तपुरको विकास पनि भएको बताए ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले पुरानै मौलिक स्वरूपमा पुनःनिर्माण अगाडि बढाउनु प्रशंसनीय भएको बताए । ५५ झ्याल दरबारको अध्ययन–अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै डा. श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन-अन्वेषण सम्भव भएको बताए ।
प्रतिक्रिया