दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन्। निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे।

२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए।

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं-१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगिमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए। पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर