नेताहरु गैरजिम्मेवार रुपमा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरु गैरजिम्मेवार रुपले पैसा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

शुक्रवार निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरुले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेका बताएका हुन् । उनले नेताहरु चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रुपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको बताए ।

उनले नेताहरु नसुध्रिइकन नेपाली जनताले सुख नपाउने बताए । उनले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएको बताए । उनले निर्माण व्यवसायीहरु आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रुपमा प्रश्तुत भएको स्वीकार गरे ।

‘अहिले हामीले निर्माण उद्योगलाई कसरी अगाडी बढाउने, निर्माण उद्योगीहरुलाई कसरी बढी क्षमतावान बनाउने कुरामा भन्दापनि सरकारले गरेको गलत निर्णयहरु, कर्मचारीले गरेको गलत निर्णयहरुमा नै समय खर्चिनुपरेको अवस्था छ’ उनले भने, ‘हामीले आफ्नो क्षमताभन्दा अत्याधिक रुपमा निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर हामी गैरजिम्मेवार रुपमा प्रस्तुत भएकै हो ।’

उनले आगामी दिनमा बिना बजेटको योजनाहरु राख्नु नहुने बताए। उनले बिना बजेटको योजना राखेर निर्माण व्यवसायीलाई घरको न घाटको बनाइएको भन्दै बिना बजेटका योजनाहरुलाई खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *