विश्वमञ्चमा मोदीः सन्दर्भ र सार्थकतामाझ लेखिएको एउटा संग्रहित पुस्तक

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ ।

भूपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् । विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितिबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ।

‘विश्वमञ्चमा भारत नयाँ ढंगले अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतले आफुलाइ सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने ।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शक्तिशाली रुपमा देखापरेको छ । जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिर्पोटका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो ।

२०२२–२०२३ मा ७.२% को आर्थिक वृद्धि गरेर भारत जी २० देशहरुमा लगातार दोस्रो स्थानमा रह्यो । विश्वव्यापी रुपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले उसलाई विश्वमञ्चमा बलियो बनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी सार्क बैठकसहित चार पटक नेपाल भ्रमणमा आएका छन् । पहिलोपटक सन् २०१४ को अगष्ट । दोस्रो, २०१४ को सार्क बैठक । तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा ।

नेपालको जनकपुर, लुम्बिनीदेखि मुत्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सय भन्दा बढी यात्रा गरेका छन् । ‘यी सबै यात्रा र सम्बोधनहरुमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए ।

नेपाल र भारतको प्रागऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भईरहेको छ भनेर आम नेपालीलाई समेत थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’ इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर