सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले सोको लागि आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी रहेको बताए ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयिक्तक तथा जैविक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै बायोमेट्रिक नमुना लिइएको हुन्छ । हाल ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले क्रमशः सबै नागरिकले परिचयपत्र हात पार्ने बताए । नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको उनले बताए।
चितवनमा हालसम्म वडा तहबाट तीन लाख २५ हजार चार सय ७० र जिल्ला प्रशासन कार्यालयबाट एक लाख १५ हजार सात सय ६१ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । जिल्लामा हालसम्म २१ हजार कार्ड आइसकेकामा जम्मा पाँच हजार पाँच सय ९६ जनाले कार्ड लगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया