खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउँछन् : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन्।
मंगलबार काठमाडौँमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताए।
उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए। उनले २०२१ मा विभिन्न रुपमा छलफल भए पनि कोभिड आएपछि थप समस्या भएको उल्लेख गरे।
निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गरे। उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रवर्द्धक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यसबारेमा ठोस सहमति भएको उल्लेख गरे।
उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने पक्षमा रहेको बताए। उनले वैदशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिबद्धता जनाए।
उनले विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी–५ जलविद्युत आयोजना ठेक्का लागेको बताए। उनले तामाकोशी–५ मा तामाकोशी जलविद्युत आयोजनाको शेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले तामाकोशी–५ जलविद्युत आयोजनाको १० प्रतिशत शेयर दोलखालाई दिने बताए।
प्रतिक्रिया