६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त
छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छैन । हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजरायलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्ध विरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो ।
एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरुमार्फत् यस्ता सर्त अघि सारेको हो । हमासले १२९ जना बन्धकहरूलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो । तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन । हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो ।
त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ । साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ ।
हमासले अक्टोबर ७ मा इजरायली सहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो । यसपछि हमासका आतंककारीहरूले इजरायलमा प्रवेश गरी मानिसहरूको हत्या गरेका थिए । यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीहरू विरुद्ध कारबाही सुरु गरेको थियो । यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ । इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया