माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो
काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिवारदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (शुक्रवार) एक सूचना जारी गर्दै गत फागुन ४ गते लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज जारी गरेको सूचनामा भनिएको छ, “हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिशअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।”
यसअघि काठमाडौँका विभिन्न स्थानमा २ महिनासम्मका लागि भन्दै भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो।
प्रदर्शनका क्रममा तोडफोड गरे असुलउपर जरिमाना
यसबीच‚ गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ।मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृङ्खल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मीलक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जानकारी दिएको हो।
विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ। मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवानासहितको कारबाही हुने मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकाल शुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण सङ्कलन भइरहेको तथा शिघ्र कारबाहीसमेत गरिने बताए।
“शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन। त्यसैले आन्दोलनका क्रममा भएका वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको छ”, उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
प्रतिक्रिया