
मुग्लिन–पोखरा सडक विस्तार : सुस्त काम, म्याद थप्ने तयारी
पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ ।
आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आएको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।
उनका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्देमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुईतर्फी १५ किमी कालोपत्र गरिएको छ । अहिले कालोपत्रलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको उनले बताए ।
पूर्वी खण्डमा ४१ दशमलव सात किमी दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।
उक्त खण्डको अन्तिम म्याद २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।
त्यसैगरी पश्चिम खण्डमा दुई लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ड र नाला निर्माणलाई प्राथमिकता दिइएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए
‘पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा ढिलो काम सुरु गरेका कारण सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको हो,’ उनले भने, ‘पछिल्लो समय लक्ष्यअनुरुप निर्माण गर्न थालेपछि प्रगति बढ्न थालेको छ ।’
पहिरा खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने आयोजनाले जनाएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको छ । पश्चिम खण्डअन्र्तगत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।
यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया