स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहन गर्न जरुरी छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् । उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे । अनुसन्धानका निष्कर्षलाई व्यावहारिक सामाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने सुझाव दिए ।
स्वास्थ्यमा सर्वब्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास पनि व्यक्त गरे ।
यस्तो छ राष्ट्रपति पौडेलको भनाइः
स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्वन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी छ ।
साथै अनुसन्धानका निष्कर्षलाई व्यावहारिक सामाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्दछ भन्ने मलाई लाग्दछ । हाम्रो संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ ।
संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ । आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानको लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ । सोही कार्यलाई व्यवस्थित गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा नयाँ खोज तथा अनुसन्धानको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई अझ समुन्नत बनाउँदै लैजानु आजको आवश्यकता हो ।
परिषद्ले नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बारेमा विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धान गरी यस महामारीको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिका प्रशंसनीय छ । विशेषत परिषद्ले नसर्ने रोग, मानसिक स्वास्थ्य, तथा जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रमा गरेका अध्ययन तथा अनुसन्धानले राष्ट्रिय स्वास्थ्य नीति, रणनीति तथा कार्ययोजना बनाउन योगदान पुर्याएको छ ।
स्वास्थ्य र जनसंख्या क्षेत्रमा देशभित्रै अधिकतम ज्ञान र सीपको अभिवृद्धि गर्न, यथेष्ट अध्ययन र अनुसन्धानको वातावरण तयार गर्न, प्रतिभा पलायन रोक्न तथा सार्वजनिक स्वास्थ्यमा आम जनताको पहुँच स्थापित गर्न सरकारले चाल्नुपर्ने कदमबारे यस शिखर सम्मेलनले समयसापेक्ष उपयुक्त सुझाव दिने छ भन्ने मैले आशा लिएको छु । हाम्रो स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित, सहज एवम सर्वसुलभ बनाउन स्पष्ट, वस्तुनिष्ठ र ठोस राय सुझाव दिनेछ भन्ने पनि विश्वास लिएको छु ।
राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित, सहज एवं सर्वसुलभ बनाउन स्पष्ट, वस्तुनिष्ठ बनाउन जरुरी रहेको जिकिर गरे ।
प्रतिक्रिया