सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो । निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए ।

असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एकैदिन तीन जनासम्मको  ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताए । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका  छन् भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।

आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अन्जुकुमारी चौधरीले जानकारी दिए । “बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो”, उनले भने, “यहाँ पैसा तिर्नुपरेको छैन । सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ ।” निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुसी व्यक्त गरे ।

नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए ।  सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनी बताउछन्।

पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ । उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए। ल्याब सेवा लिन आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उनको दाबी छ । जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो ।

उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेका टेक्निसियन यादव बताउछन्। ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको बताए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधि र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो ।

जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ । यसअघि सिएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगञ्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत ठूला सहर धाउनुपर्ने बाध्यता थियो । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर