जनकपुरधाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता अवालेका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न दुईजनालाई पक्राउ गरेको छ । तर, अहिले उनीहरूमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवालेले बताए ।
पक्राउ परेकाहरूको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्री समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न रहेकाहरू लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया