रास्वपालाई प्रदीप पौडेलको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे ।

उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे। उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गरे ।

उनले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताए । उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए । उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए ।

उनको भनाइ यस्तो छ
‘कुनैपनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ । निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ । सरकारको संयन्त्र विश्वसनीय छैन भनेर यो भन्दा अघि पनि धेरै पटक भनिएको छ । हामीले विश्वसनीय छैन भनेर विभिन्न संसदीय समितिहरु बनायौँ । छानबिन समिति बनायौँ । राज्यको संयन्त्रले राजनीतिक मानिसलाई छुन सक्दो रहेनछ, राजनीतिक मानिस त्यो पनि सत्तामा बसेका व्यक्तिहरुसँग प्रश्न गर्नै सक्दा रहनेछन् भन्नेकुरा सबैले बुझेका छौँ । निष्पक्ष छानबिनका लागि सत्यतथ्य खोज्नसक्ने समिति बनाएर छानबिन गर्ने स्थिति बनाउनुपर्छ । सहकारीको विषय केही तथ्यहरुसँग जोडिएको छ । हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो । समिति बनाउँदा सत्ताको अंक गणितको आधारमा हुन्छ । सत्तारुढ गठबन्धनले संसदीय समिति बनाउँदा र सत्तामै भएको व्यक्तिमाथि छानबिन गर्दा पनि संसदीय समितिको बहुमत त्यही गठबन्धनकै हुन्छ । संयोजक पनि त्यही पक्षबाट आउनुहुन्छ । काँग्रेसबाट गएका केही प्रतिनिधिले सत्यलाई ढाकछोप गर्ने स्थिति हुँदैन । त्यसैले छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *