कुवेतमा रोजगारदाताको बन्धकमा सपना
वैदेशिक रोजगारीका लागि कुवेत गएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेका छन् ।
काठमाडौंका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक रु. ४० हजार पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिना अघि कुवेत पु¥याएको सपनाका पति श्यामबहादुर ठटालले बताए ।
मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारका रुपमा पुर्याइएकी सपनाले दश दिन अघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् ।
‘कुवेत गएको चार महिनादेखि सम्पर्कविहीन अवस्था थियो,’ सपनाका पति श्यामबहादुरले भने, ‘१० दिनअघि एक्कासी फोन आयो, साथीको फोनबाट लुकेर सम्पर्क गरेको बताएकी थिइन्, बिना पैसा रातदिन काम लगाउने गरेको र केही बोल्यो भने उल्टै साहुनीले कोठामा थुनेर कुटपिट गर्ने गरेको बताउँदै जतिसक्दो छिटो उद्धार गरिदिनु भनेर भनिन् ।’
सपना जस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पु¥याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताए । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उनले जानकारी दिए ।
कुवेत गएपछि एकपटक रु. ४० हजार पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताइन् । नाताले भाउजु पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताइन् ।
काठमाडौँ घर बताउने एजेन्ट थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन रु. नौ लाख फिरौती रकम मागेको कृष्णमायाको भनाइ छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएको आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उनले गुनासो गरिन् । वैदेशिक रोजगारीमा जान सपनाले बनाएको कागजातअनुसार उनको २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको बैधता चार महिना अर्थात् गत पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।
सपनाको भिसा कागजातअनुसार उनलाई घरेलु कामदारका रुपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ । छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रुपमा काममा लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट थापाले नै व्यहोरेको बताइएको छ ।
सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाको छ । उनका पति श्यामबहादुर ट्याक्टरमा मजदुरी काम गर्दै आएका छन् । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् ।
प्रतिक्रिया