उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेसलाई सकस, आज पनि बैठक बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ । इलाम-२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।

कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए । पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर आजै उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर