बैना रकम नतिरी वीरगन्जका सहाबुदिन दम्पती फरार

नेपाली कांग्रेस वीरगन्ज महानगरका पूर्वसभापति मोहम्मद सहाबुदिन र उनकी पत्नी नजमा बेगम अहिले फरार रहेका छन् । गत साता जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोली वीरगन्ज महानगरपालिका–३, छपकैयास्थित उनीहरुको निवासमा पुग्दा दुवै जना फरार थिए ।

सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैनास्वरुप बाराको कलैया उपमहानगरपालिका–४ का दिपुप्रसाद गुप्तासंग ७५ लाख रुपैयाँ बुझेका थिए । पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसँग गर्न लगाएका थिए ।

साहसँग पटक–पटक गरी पैसा बुझेपछि सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्न थाले । जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखेपछि पाँच वर्षपछि २०७८ सालमा पीडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराइदिन माग गर्दै मुद्दा दायर गरे ।

अदालतले २०८० पुस ८ मा गुप्ताको पक्षमा फैसला गर्दै ७ दिनभित्रमा ७५ लाख रुपैया अदालतमा दाखिला गर्न आदेश दिएको थियो । बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भएपछि सहाबुदिन दम्पती २०८० माघ ४ मा बारा जिल्ला अदालतमा बिन्ती पत्र चढाउँदै माघ मसान्तभित्र ३ किस्तामा गरी रकम दाखिला गर्ने सुविधा दिन आग्रह गरेका थिए । सोही मितिमा अदालतले माग बमोजिमको फैसला गरेपनि नजमाले रकम दाखिला गरिनन् । अदालतले माघ १४ मा प्रथम किस्ताको २५ लाख रुपैयाँसहित स्वयम् हाजिर हुन आदेश गरे पनि उनीहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपैयाँ दाखिला गरी पुनः फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए ।

नजमाको मागबमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन् । रकम दाखिला नगरेपछि जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले बारा प्रहरीले नजमालाई पक्राउ गरिदिन भन्दै पत्र पठाएको पर्दाफासलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर