काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो ।
हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर-गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन । सभापति देउवाले बैठकमा इलाम-२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।
नेता कोइराला र थापाले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम-२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको छ ।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ ।
प्रतिक्रिया