म्याद नाघेका खाद्य सामग्री जफत
२० चैत २०८० ८:४३
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण-६ घार र खिवाङ क्षेत्रका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो ।
उपाध्यक्ष पुनका अनुसार मूल्यअभिवृद्धि कर (भ्याट) र व्यक्तिगत खाता नम्बर (प्यान) नलिइकन व्यवसाय सञ्चालन गरेक तथा अनुमतिबिना मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गरेकाहरूलाई सचेत गराइएको छ ।
प्रतिक्रिया