नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसक्यो : सांसद यादव
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरताको बिजारोपण भइसकेको बताएका छन्।
सोमबार संसद भवन परिसरमा बोल्दै उनले विचार, सिद्धान्त वा मान्यताभन्दा स्वार्थ हाबी हुँदा नेपालमा गठबन्धन बन्ने र भत्किने स्थिति बनिरहेको बताएका हुन्।
उनले विचार, सिद्धान्त च्यूत भएपछि स्वार्थ हाबी हुने बताए। उनले पछिल्लो चरणमा नेपालको राष्ट्रिय राजनीति सकारात्मक दिशाबाट अघि नबढेको जिकिर गरे।
उनले केन्द्रमा गबठन्धन फेरिँदाको असर प्रदेश तहमा पनि देखिरहेको भन्दै यसले राम्रो सन्देश नदिएको बताए। उनले अहिलेको परिवर्तन एक प्रकारको राजनीतिक भागबण्डाको लडाइँ मात्रै भएको बताए।
‘नेपालमा जसरी गठबन्धन बन्ने र भत्किने स्थिति छ। त्यो विचार, सिद्धान्त वा मान्यताले भन्दा पनि एक प्रकारको स्वार्थको कारणले गठबन्धन बन्ने र भत्किने गरेको छ। र यो दुर्भाग्यपूर्ण पनि हो,’ उनले भने,’अस्थिरताको त बिजारोपण भइसकेको छ। यसले नेपालको राष्ट्रिय राजनीतिलाई राम्रो दिशामा लैजान्छ भन्ने मलाई लाग्दैन।’
प्रतिक्रिया