एमालेसहितको वामपन्थी एकतातर्फ हामी फेरि फर्किएका छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहित वामपन्थी एकतातर्फ फर्किएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका लागि मौलिक बाटोको खोजी हुने र ०७४ को चुनाव अघिका देशभक्त वामपन्थीहरूको एकतामा फर्किएको बताएका हुन्।

‘२०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भन्ने प्रस्ताव मैले नै गरेको हो। झन्डै दुई तिहाइमा पुग्यौं पनि। तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं,’ उनले भने, ‘तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं।’

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि वातावरण बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

उनले त्यो हुन सक्ने आशा अझै जिवितै रहेको पनि बताए।

‘हामी जीवितै छौं अझै। एकचोटी हामी यो अनुभवसहित एकतावद्ध भएपछि हामी अजय हुन्छौं। मलाई विश्वास छ–हाम्रै पालामा समाजवादी क्रान्तिको विचारको पनि विकास हुन्छ। समाजवादी क्रान्तिको मौलिक बाटोको पनि खोजी हुन्छ। र हामी त्यो बाटोमा हिँडछौं,’ उनले भने।

उनले प्रचण्ड स्खलित भयो भनेर नबुझ्न पनि आग्रह गरे।

‘प्रचण्ड थाक्यो कि, स्खलित भयो कि भन्ने ठान्नुभएको छ भने म यहाँहरुसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने अन्तिम समयसम्म पनि मेरो क्रान्तिबाहेक केही पनि छैन। त्यसकारण यो कुराको गहिराइलाई आत्मासात गरौं। एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं। हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर