अनुगमनको नाउमा पटक पटक परीक्षा केन्द्रमा जाने नगर्नु : राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा(एसइई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ ।

बिहीबारदेखि सुरु भएको यो वर्षको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान आग्रह गरेको हो ।

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ ।

‘ प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगत रूपमा र धेरै संख्यामा पटक पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नु’ कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए ।

परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *