सुदूरपश्चिममा नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई सामाजिक विकास र उद्योग मन्त्रालयको जिम्मेवारी 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोक्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि दुवैजना बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदा दुवै बिना विभागीयमन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बुधबार टीकापुरमा बसेको बैठकले संघीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले गरेको थियो । संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको सरकारलाई नै समर्थन गर्ने विषयमा आफूहरु पछि नहट्ने बताए ।

बहुमत जुटाउनका लागि स्वतन्त्र सदस्य डा. तारा जोशी र राप्रपाकी खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने मुख्यमन्त्री शाह बताउँछन् । प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भइसकेका छन् ।

केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पदमुक्त गरेका थिए । नागरिक उन्मुक्तिले भने सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । लगत्तै मुख्यमन्त्रीले सो पार्टीका थप चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा रिक्त प्रदेशसभा सदस्यका लागि बझाङ क्षेत्र नं–१ ‘क’मा आगामी वैशाखमा निर्वाचन हुँदैछ ।

सरकारले विश्वासको मत प्राप्त गर्नका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्रका एक एक सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *