धनुषा-२ मा पुनः मतगणनाको माग गर्दै परेकाे रिट खारेज

धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट पराजित भएपछि पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका उमाशंकर अरगरियाको रिट खारेज भएको छ।

बुधबार सर्वोच्च अदालतले पुनः मतगणनाको औचित्य नदेखिएको भन्दै रिट खारेज गर्ने फैसला गरेको हो।

पूर्ण इजलास १ मा न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो।

यसअघि यस रिटमा ०७९ पुस ६ गते कारण देखाऊ आदेश दिइएको थियो। त्यसपछि निरन्तर ६ पटक रिट पेशीमा चढे पनि हेर्न भ्याइएको थिएन।

निर्वाचन कार्यालयले घोषणा गरेको मत परिणाममा असन्तुष्टि जनाउँदै अरगरियाले ०७९ मङ्सिर १९ गते संवैधानिक इजलासमा रिट निवेदन दिएका थिए। उनले निर्वाचित भएका नेपाली कांग्रेसका रामकृष्ण यादवसहित सात जनालाई विपक्षी बनाई रिट दर्ता गराएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव २० हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले १९ हजार ९५५ मतसहित पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *