भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव

खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् ।

यही चैत ५ र ६ गते राजधानीमा हुन लागेको ‘वर्षात्को पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा खानेपानी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पूर्वमन्त्री तथा सम्मेलन आयोजक समितिका सल्लाहकार गणेश साहले भने, ‘हामीले हाम्रा सन्ततिको भागको जमिनमुनिको पानी पनि तानेर खाइसक्यौँ । खोला नदी प्रदूषित गर्यौँ । ताल पोखरी पुरिँदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अब पानी बचत गरौँ ।’

आयोजक समितिका अध्यक्ष तथा स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इन्जिनियर रामदीप साहले वर्षात्को पानीको महत्व, आसन्न सम्मेलनको उद्देश्य, सहभागिता र अपेक्षित उपलब्धिबारे जानकारी दिएका थिए ।

उनले मानिसका हरेक क्रियाकलाप र विकास गतिविधि पानीसँग अभिन्नरूपमा जोडिएको उल्लेख गर्दै भने, ‘पानी बहुउपयोगी पनि छ तर यस्तो अत्यावश्यक पानी संसारभर समान रूपमा उपलब्ध छैन । जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा आएको परिवर्तनले भइरहेका पानीका स्रोतमा पनि प्रतिकूल असर परिरहेको छ । पानीका मूल सुक्दै गएका छन् । पानीको अभाव हुन नदिन हामीले आफूलाई वर्षभरि चाहिने पानीको जोहो गर्न व्यक्तिगत र सामूहिकरूपमा सोच्नुपरेको छ । पारिवारिक, सामुदायिक, पालिकास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय योजना बनाएर जमिनमुनिको पानी बचाउ अभियान कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।’

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ र वैज्ञानिक, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थी, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगी हुनेछन् ।

प्राविधिक समितिका अध्यक्ष सुनिलबाबु श्रेष्ठले सम्मेलनको प्राविधिक पक्षमा प्रकाश पार्नुभएको थियो । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन अवधिमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिको प्रदर्शनी पनि हुनेछ । इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हाइजनले वर्षात्को पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा सङ्कलन गरेर मानवीय आवश्यकता पूरा गर्न सकिने बताउनुभएको थियो । स्मार्ट वास सोलुसन र नेदरल्याण्ड विकास संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेस्टिङ एलायन्सको समन्वयमा सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *