अनुशासन कायम राख्न निर्मम बन्नुस् : खेलकुदमन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिएका छन् । राखेपले बोर्डका अध्यक्षसमेत रहेका खेलकुदमन्त्रीको स्वागत र बधाई कार्यक्रममा उनले खेलकुदमा अनुशासन कायम राख्न निर्मम बन्न र पछि नहट्न निर्देशन दिए ।
त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसको कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटो ल्याउन ऐनमा रहेर निर्मम बन्नुपर्ने औँल्याए । दशकौँसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न निर्देशन दिए ।
देशले उच्चतम राजनीति व्यवस्थामा काम गरिरहेको अवस्थामा खेल संघ र खेल व्यक्तित्वहरू सामन्ती सोचमा काम गरिरहेको भए कारबाही गर्न डराउन नहुने बताए । सामावेशिता र सहभागीका लागि भएका आन्दोलनलाई स्थापित गर्न नसक्ने खालका गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।
सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको उनको भनाइ छ । खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने उनले बताए । मन्त्री श्रेष्ठले उपलब्धि भएका र नभएकालाई एउटै आँखाले हेर्न नसकिने बताए ।
उनले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्ने बताए । नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने उनले बताए ।
प्रतिक्रिया