रुसी सेनामा रहेका नेपालीद्वारा उद्धारको गुहार, भारतीय मिडियामा आयो यस्तो भिडियो

रुसी सेनामा रहेका नेपालीले एक भिडियो सार्वजनिक गर्दै आफूहरुको उद्धार गरिदिन भारतीय सरकारलाई आग्रह गरेका छन् । भारतीय सञ्चारमाध्यम द वायरले सार्वजनिक भिडियो तथा समाचारमा दाङका सञ्जय बुढामगर, ओखलढुंगाका राम खत्री, इलामका सन्तोष केरुङ र गोरखाका कुमार श्रेष्ठले उक्त अपिल गरेका छन् ।

गत आइतबार सार्वजनिक भएको भिडियोमा तीन नेपाली देखिएका छन् । उनीहरुले हिन्दी भाषामा बोल्दै आफ्नो उद्धार गरिदिन आग्रह गरेका छन् । आफूहरुसँगै रहेका ३ जना भारतीयको भारत सरकारले उद्धार गरेको र नेपालबाट सम्भव नभएकाले आफूहरुको पनि उद्धार गरिदिन आग्रह गरेका हुन् ।

उनीहरुले आफूहरुलाई रुसी सेनाको हेल्परको रुपमा काम गर्ने भनेर एजेन्टले धोका दिएको पनि उल्लेख गरेका छन् । तर, भिडियोमा उनीहरुले आफ्नो नाम, नेपालमा घर भएको स्थान भने खुलाएका छन् ।

आफूहरु पहिले ३० जना भएको तर केहीलाई अन्यत्र युद्धमा पठाइएको र केही घाइते भएर अहिले ५ जना मात्र बाँकी रहेको उनीहरुले बताएका छन् ।

भिडियोमा यस्तो छ उनीहरुको भनाइः

अहिले हामी रुसी सेनामा छौं । हामी आफ्नो देश नेपालबाट आएका थियौं । तर, यहाँ आएपछि हामीलाई ज्यादै समस्या भइरहेको छ । हामीलाई एजेन्टले झूठो बोलेर पठाएको थियो । हामीलाई रुसी सेनाको हेल्परको रुपमा काम गर्नुपर्ने बताइएको थियो । तर यहाँ आएपछि हामी युद्धमा जानु परिरहेको छ । त्यसैले हामी यहाँबाट निस्कन चाहिरहेका छौं ।

हामीसँग भारतीय साथीहरु पनि थिए । उनीहरुलाई भारत सरकारले फिर्ता गराएको छ । तर, हामीलाई नेपाली दूतावासले कुनै सहयोग गरिरहेको छैन । नेपालबाट केही हुन सकिरहेको छैन । त्यसैले हामी आफ्नो छिमेकी देशबाट मद्दत मागिरहेका छौं । भारतले हामीलाई सहयोग गर्छ, निराश पार्दैन भन्ने आशा लिएका छौं ।

नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । भारत र भारतीय दूतावास शक्तिशाली छ । त्यसैले हामी तपाईंहरुसँग मद्दत माग्न चाहन्छौं । यहाँ रहेका नेपाली फिर्ता हुन चाहन्छन् । हामीसँग धोका भएको छ । ३० जनामध्ये हामी अहिले केवल ५ जना मात्र छौं । कोहीलाई अन्यत्र पठाइएको छ भने कोही युद्धमा घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर