रास्वपाका दुई निर्णय: इलाम उपनिर्वाचनमा भाग लिने, हरेक साता सरकारको समीक्षा गर्ने
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।
बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले हरेक साता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए ।
‘दुई मुख्य एजेण्डा थिए– एउटा सरकारमा सहभागी भईसकेपछि जुन राजनीतिक परिस्थितिको कुरा थियो । त्यो निर्णयलाई अनुमोदन गर्ने कुरा थियो । र, यसको विभिन्न व्याख्या, विश्लेषण गर्नुपर्ने थियो । त्यसका बारमा निर्णय गरेका छौं । त्यस्तै गरी दोस्रो उपनिर्वाचनको सन्दर्भमा पनि हामीले केही निर्णय गरेका छौं । सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो । साथै सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरियो । त्यस्तै दोस्रो निर्णयमा हामीले इलामको उपनिर्वाचनमा भाग लिने, दल दर्ता गर्ने निर्णय ग¥यौं भने प्रदेश सभाको निर्वाचन जुन बझाङको थियो । त्यसमा हामीले भाग नलिने निर्णय गरेका छौं,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्तारुढ गठनमा आबद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।
प्रतिक्रिया