काठमाडौंमा चैत १ देखि ४ सम्म फ्लोरा एक्स्पो हुँदै
फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एशोसिएशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो ।
स्वच्छ वातावरण तथा आर्थिक संमृद्धिको लागि पुष्प व्यवसाय भन्ने नारासहित हुन लागेको आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक सीताराम पन्तले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचारप्रसार गर्न सघाउ पु¥याउने मुख्य उद्देश्य रहेको बताए ।
पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेहरुलाई मेला बृहत् साझा मञ्च हुने विश्वास लिएको बताए । उनले मेलामा ६० स्टल,ल्याण्डस्केपिङ स्टल ३ अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहने बताए ।
मेलाको अवधिभर ५० हजार मानिसहरुले अवलोकन गर्ने अपेक्षा राखेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ३ अर्ब ७ करोड भन्दा बढी कारोबार भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा करिब ३३.६३ प्रतिशत वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनले बताएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात ३३.०६४ करोड बराबरको कारोबार भएको बताएको छ ।
प्रतिक्रिया