
सात महिला चलचित्रकर्मी सम्मानित


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरूलाई जनही नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागत रूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन् । ‘चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ,’ उनले भनिन् ।
मन्त्री शर्माले आउँदो वर्षमा पनि अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने सुझाव दिइन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने, ‘हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ ।’
प्रतिक्रिया